जाजरकोट। विवाहलाई केवल एक दिनको उत्सव नभई जीवनभरको सुरक्षासँग जोड्ने प्रेरणादायी उदाहरण जाजरकोटमा देखिएको छ। चाैरजहारी नगरपालिका वडा नं. १ रुकुम पश्चिम निवासी श्रीमान होमराज शर्माले आफ्नी जीवनसाथी श्रीमती कृषा आचार्य लाई विवाहको विशेष उपहारस्वरूप १० लाख रुपैयाँ बीमांक बराबरको जीवन बीमा पोलिसी प्रदान गरेका छन्।
सामान्यतया विवाहमा सुन, गहना वा अन्य भौतिक उपहार दिने चलन रहे पनि श्रीमान शर्मा ले भविष्यको आर्थिक सुरक्षा र पारिवारिक जिम्मेवारीलाई प्राथमिकता दिँदै जीवन बीमा पोलिसी उपहार दिएका हुन्। यस कार्यले विवाहको उपहारलाई नयाँ सोच र दीर्घकालीन सुरक्षासँग जोड्ने सकारात्मक सन्देश दिएको छ।
उक्त जीवन बीमा पोलिसी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी को जाजरकोट शाखा मार्फत जारी गरिएको हो। बीमा प्रक्रियालाई एजेन्सी मेनेजर अर्जुन कुमार लामिछाने ले सहजीकरण गरेका थिए।
शाखा प्रमुख मान बहादुर खत्री ले यस्तो अभ्यासले समाजमा बीमाप्रतिको सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै विवाहजस्ता विशेष अवसरमा जीवन बीमा उपहार दिने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने बताए।
त्यसैगरी, अपरेसन इन्चार्ज इन्द्र बहादुर महतारा ले जीवन बीमा केवल एउटा कागजको पोलिसी नभई परिवारको भविष्य सुरक्षित गर्ने आर्थिक आधार भएको उल्लेख गर्दै यस्ता प्रेरणादायी कार्यले अन्य दम्पतीलाई समेत सकारात्मक सन्देश दिने बताए।
विवाहको अवसरमा प्रदान गरिएको यो १० लाख रुपैयाँ बीमांकको जीवन बीमा पोलिसीले प्रेमसँगै जिम्मेवारी, विश्वास र भविष्यप्रतिको दूरदृष्टिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। पछिल्ला वर्षहरूमा नेपालमा विवाह, जन्मदिन तथा अन्य विशेष अवसरमा जीवन बीमा उपहार दिने अभ्यास विस्तार हुँदै गएको छ, जसले आर्थिक सचेतना र भविष्यप्रतिको तयारीलाई थप बल पुर्याएको देखिन्छ।