काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने ब्याजदर पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएपछि सर्वसाधारणले आफ्नो बचतलाई दीर्घकालीन सुरक्षा र प्रतिफल दिने विकल्पतर्फ मोड्न थालेका छन्। त्यसको प्रत्यक्ष प्रभाव जीवन बीमा क्षेत्रमा देखिन थालेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन १४.५० प्रतिशतले बढेको तथ्यांकले जीवन बीमाप्रति नागरिकको आकर्षण बढिरहेको संकेत गरेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संकलन १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख ३६ हजार रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा बीमाशुल्क संकलनमा २२ अर्ब ४९ करोड ७४ लाख ८७ हजार रुपैयाँभन्दा बढी अर्थात १४.५० प्रतिशतकाे वृद्धि भएको हो।
तथ्यांकअनुसार कुल बीमाशुल्क संकलनमध्ये सावधिक जीवन बीमाको हिस्सा सबैभन्दा ठूलो रहेको छ। यस शीर्षकअन्तर्गत ७१ अर्ब ६० करोड ६१ लाख १९ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जसले कुल व्यवसायको ४०.३१ प्रतिशत हिस्सा ओगटेको छ। अघिल्लो वर्षको तुलनामा यस शीर्षकमा २१.२३ प्रतिशत वृद्धि भएको छ।
त्यसैगरी अग्रिम भुक्तानी सावधिक बीमाबाट ३३ अर्ब ३६ करोड ४७ लाख १८ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जसको बजार हिस्सा १८.७८ प्रतिशत रहेको छ। रूपान्तरित सावधिक बीमाबाट २० अर्ब ७९ करोड ३१ लाख ५ हजार रुपैयाँ संकलन भएको छ भने यसको बजार हिस्सा ११.७० प्रतिशत पुगेको छ। बालबच्चा सम्बन्धी सावधिक बीमामा २३.०१ प्रतिशत को उल्लेखनीय वृद्धि देखिएको छ, जुन सबैभन्दा उच्च वृद्धिदरमध्ये एक हो।
यस्तै एकल बीमाशुल्क शीर्षकमा ११.४२ प्रतिशत, म्यादी बीमामा १२.७१ प्रतिशत तथा लघु जीवन बीमामा १३.४४ प्रतिशत वृद्धि भएको देखिन्छ। अन्य शीर्षकमा पनि ८ प्रतिशत वृद्धि भएको छ। तर वैदेशिक रोजगार म्यादी जीवन बीमामा भने ३.४४ प्रतिशत गिरावट आएको तथ्यांकले देखाएको छ भने आजीवन बीमा लगभग स्थिर रहेको छ।

बीमा क्षेत्रका जानकारहरूका अनुसार बैंकको निक्षेप ब्याजदर घट्दै जाँदा धेरै बचतकर्ताले केवल ब्याजभन्दा पनि भविष्यको आर्थिक सुरक्षा र परिवारको संरक्षणलाई प्राथमिकता दिन थालेका छन्। जीवन बीमाले जोखिम सुरक्षा, बचत, बोनस तथा दीर्घकालीन वित्तीय योजना निर्माणमा सहयोग गर्ने भएकाले पछिल्लो समय यसको माग बढ्दै गएको उनीहरूको विश्लेषण छ।
यससँगै बीमा कम्पनीहरूले डिजिटल सेवा विस्तार, नयाँ बीमा योजना, ग्राहकमैत्री सेवा र बीमा सचेतना अभियानलाई तीव्र बनाएका कारण पनि नयाँ व्यवसाय विस्तारमा टेवा पुगेको देखिन्छ। बैंक ब्याजदर निकट भविष्यमा पनि न्यून रहने अनुमान भइरहेका बेला जीवन बीमा उद्योगले अझ राम्रो वृद्धि हासिल गर्ने अपेक्षा गरिएको छ।