काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनासम्ममा नेपालका जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको व्यवसाय (कुल बीमा शुल्क) संकलन गरेका छन्। यो गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १२.०६ प्रतिशतको वृद्धि हो । गत वर्षको वैशाखसम्म कम्पनीहरूले १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ व्यवसाय गरेका थिए।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये व्यापार बढाउने दौडमा आईएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ भने कुल व्यवसायको आकारमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बलियो विरासत कायम राखेको छ।
प्रतिशतका आधारमा व्यवसाय बढाउने सूचीमा आईएमई लाइफ इन्स्योरेन्स आक्रामक देखिएको छ। आईएमई लाइफले गत वर्षको तुलनामा ३१.२८ प्रतिशतले व्यवसाय बढाउँदै ५ अर्ब ५० करोड २६ लाख रुपैयाँ संकलन गरेको छ।
त्यस्तै, दोस्रो स्थानमा रहेको सिटिजन लाइफले १९.४९ प्रतिशत र तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफले १९.१३ प्रतिशतले आफ्नो व्यवसाय विस्तार गरेका छन्।
यस्तै रकमका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स उद्योगकै सबैभन्दा ठूलो कम्पनीको रूपमा कायमै छ। नेपाल लाइफले एक्लै ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ, जुन गत वर्षको तुलनामा १२.५१ प्रतिशतको वृद्धि हो।
दोस्रो धेरै व्यवसाय गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसले १९ अर्ब २ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ। तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ जस्ले १६ अर्ब २८ करोड २८ लाख रुपैयाँसहित बलियो स्थानमा छ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ब्यवसाय ५.५२ प्रतिशतले बढेर १४ अर्ब ५५ करोड ५२ लाख, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको १६.४३ प्रतिशतले बढेर १० अर्ब ९ करोड, सूर्यज्योति लाइफको ११.४७ प्रतिशतले बढेर ९ अर्ब ५० करोड ९० लाख, एशियन लाइफको १२.२५ प्रतिशतले बढेर ८ अर्ब १ करोड ५२ लाख, सिटिजन्स लाइफको १९.४९ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड र सानिमा रिलायन्स लाइफको १२ प्रतिशतले बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो ।
बैशाख मसान्तसम्मको अवधिमा मेट लाइफको कुल बीमा शुल्क आर्जन १०.२८ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड, रिलायबल नेपाल लाइफको १९.१३ प्रतिशतले बढेर ४ अर्ब ९४ करोड, प्रभु महालक्ष्मी लाइफको १४.५९ प्रतिशतले बढेर ४ अर्ब ७० करोड र सन नेपाल लाइफको ३.८८ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो ।