काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त बीमा अभिकर्ताहरूलाई बीमा सम्बन्धी भ्रामक, गलत तथा अनधिकृत प्रचारप्रसार नगर्न निर्देशन दिएको छ।
प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले जारी गरेको ध्यानाकर्षण पत्रमा विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमा सम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै उजुरी प्राप्त भएको उल्लेख गरिएको छ।
बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०८३ को दफा १९ तथा सम्बन्धित बीमा अभिकर्ताको आचारसंहिताको अनुसूची–१ को २(ज) अनुसार आफू बीमा अभिकर्ता नभएको कुनै पनि बीमकको बारेमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताका बारेमा गलत वा अतिरञ्जित प्रचारप्रसार गर्न नहुने प्राधिकरणले स्पष्ट पारेको छ।
यस्ता प्रावधानविपरीतका गतिविधिप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बीमा ऐन, २०७९ तथा आचारसंहिता विपरीत हुने कुनै पनि किसिमका भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार तत्काल बन्द गर्न सबै इजाजतपत्र प्राप्त बीमा कम्पनी तथा सम्बन्धित मध्यस्थकर्ताहरूलाई निर्देशन दिइएको छ।
प्राधिकरणले भविष्यमा समेत यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
